५ मंसिर २०८१, बुधबार
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार जोगिएको छ । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।
शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसदले मतदान गरेका छन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जनाले शाहीको पक्षमा मतदान गरेका हुन् । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् । यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए ।
तर, माधव नेपाल पक्षमा रहेका ४ सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै शाही नेतृत्वको सरकार जोगाइदिएका हुन् ।