मावधकुमार नेपालसहित एमालेका ३२ जना नेतालाई स्पष्टीकरण सोधियाे

होमल्याण्ड खबर

२०७८ बैशाख ७ गते, मंगलवार १७:२० मा प्रकाशित

नेकपा एमालेले मावधकुमार नेपालसहित ३२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

एमालेले पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै २७ प्रतिनिधिसभा सदस्य (सांसद)  सांसदसहित ३२ जनालाई स्पष्टीकरण सोधेको हो ।

एमालेले आज नेता नेपाल, झलनाथ खनाल , भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल , पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ,  विरोध खतिवडा , सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई,  गणेश पहाडी, दीपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी,  पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी,  सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु,  मुकुन्द न्यौपाने र, रामकुमारी झाक्रीलाई स्पष्टीकरण पत्र पठाएको हो ।

यस्तै कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला ,नन्दसिंह बुढा,कुर्मराज शाही,अम्बरबहादुर थापा,देवी ओलीलाई पनि एमालेले स्पष्टीकरण पत्र पठाएको हो ।

पत्रमा छुट्टै राजनीतिक दल गठन गरेकोले कारबाही किन नगर्ने भन्दै प्रश्न गरिएको छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

“नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकले गरेको निर्णय अनुसार तपाईलाई उपरोक्त आधार कारणहरु समेतबाट तपाईले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क) (१) (२) (३) (४) (५) (६) (७) (१२) (१४) मा उल्लिखित व्यवस्थाहरु विपरित अनुशासन उलंघन गर्नुभएको प्रष्ट देखिएकोले तपाईलाई ऐ विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम किन कार्वाही नगर्ने ? साथै राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा १(ग) वमोजिम तपाईले छुट्टै राजनैतिक दल गठन गरेको मा किन कारवाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्य पदवाट किन नहटाउने ? आधार कारण सहित तीन दिन भित्र स्पष्टिकरण पेश गर्नुहुन निर्देशन गर्दछु,“ पत्रमा भनिएको छ ।

पत्रमा दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नु भएको भन्दै प्रश्न गरिएको छ । पत्रमा सच्चिनका लागि अन्तिम मौका दिइएको समेत उल्लेख गरिएकाे छ ।