कांग्रेस बर्दियाका सभापतिसहित ४४ जनाले राजीनामा दिए

होमल्याण्ड खबर

२०७८ बैशाख १० गते, शुक्रबार १७:२९ मा प्रकाशित

नेपाली कांग्रेस बर्दिया कार्यसमितिका ४४ जनाले सामूहिक राजीनामा दिएका छन् । कार्यवहाक सभापति मिश्रीलाल यादवसहितलाई बर्दिया क्षेत्र नम्बर १ का पार्टी क्षेत्रीय सभापति मुक्तिनाथ यादवले गुण्डा लगाएर हातपात र कार्यालय बन्द गरेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका छन् ।

क्षेत्रीय सभापति मुक्तिनाथ यादवले बुधबार गुन्डा परिचालन गरी हातपात गरेको भन्दै कार्यवहाक सभापति मिश्रीलाल यादवसहित कार्यसमितिका ४४ जनाले बिहीबार केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा बुझाएका हुन् ।

बर्दियामा ७५ मध्ये ५६ वडामा क्रियाशील नवीकरण गरिसकिएको छ। ६० वडामा लेबीसमेत उठिसकेको छ। यहाँ रू १० का दरले मासिक लेबी उठाइएको छ। बर्दियामा लेबी उठाउने विषयमै विवाद भइरहेको थियो।

“पार्टीको क्षेत्रीय सभापतिले १४ औँ महाधिवेशन सम्पन्न गर्न अहोरात्र खटिनु पर्नेमा वर्दियामा महाधिवेशनबाटै वन्चित गर्ने दुषित मनसायका साथ पार्टीको महाधिवेशन सम्पन्न गर्ने महत्वपूर्ण समयमा पार्टीका नेताहरुमाथि अराजक गुण्डाहरु ल्याई हातपात तथा मान सम्मानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा अब योअराजकता पार्टीमा रहेसम्म काम गर्ने अवस्था रहेन । ,” उनीहरुले बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

उनीहरुले यस्तो अनुशासनरहित कार्य गर्नेहरुलाई कारबाही गर्न अनुरोध गरेका छन् ।  उनीहरूले यो विषम परिस्थितमा पार्टी कार्यालयमा तालाबन्दी गरी गुण्डाहरु परिचालन गरेकाले काम गर्न पार्टीको काम गर्न असमर्थ रहेको भन्दै राजीनामा स्वीकृत गरिदिन भनेका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्दियाबाट आएको निवेदनबारे आइतबार छलफल हुने जानकारी दिए ।