९ मंसिर २०८१, आईतवार
नेपाली समय अनुसार राति पौने ८ बेजे सामारा एरिना रंगशालामा यी दुई बीचको खेल हुनेछ । ब्राजिलले जारी विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी, दोस्रो खेलमा कोष्टारिकासँग २–० को जित र तेस्रो खेलमा सर्वियासँग २–० को जित हात पार्दै समूह ‘इ’को विजेताको रुपमा प्री क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
ब्राजिल दक्षिण अमेरिकाबाट रुस विश्व कपका लागि शीर्ष स्थान हात पार्दै छानिएको पहिलो देश हो । छनोटमा उत्कृष्ट प्रदर्शन गरेको ब्राजिल लगातार २१ पटक विश्व कप खेल्ने एक मात्र भाग्यमानी राष्ट्र पनि हो ।
सन् १९३० देखि ब्राजिलले लगातार विश्व कप खेल्दै आएको छ । विश्वकपको सबैभन्दा सफल टिम मानिने ब्राजिलले पाँच पटक उपाधि जितिसकेको छ भने छैटौं पटक पनि उपाधि जित्ने दाउमा देखिएको छ ।
त्यस्तै मेक्सिकोले भने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० को जित, दक्षिण कोरियासँग २–१ को जित र तेस्रो खेलमा स्वीडेनसँग ३–० पराजय व्यहोर्दै ६ अंकका साथ ‘एफ’बाट उपविजेताका रुपमा प्री–क्वार्टरफाइलनमा स्थान बनाउँदै ब्राजिललाई प्रतिद्वन्द्वी पाएको हो ।
उत्तर अमेरिकी छनोटको विजेता मेक्सिको सन् १९३० मा भएको पहिलो संस्करणमा सहभागी भएको थियो । त्यसयता उसले विभिन्न १२ ओटा संस्करणमा भाग लिइसकेको छ ।
तर विश्वकपमा अहिलेसम्म क्वार्टरफाइनल भन्दा माथि पुग्न सकेको छैन । यी दुई टोलीबीच आज हुने खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।
विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको ब्राजिल यो खेलमा जसरी पनि जित निकाल्ने दाउमा हुने छ।
त्यस्तै, आजै राति पौने १२ बजे हुने अर्को खेलमा बेल्जियम र जापानबीच भिडन्त हुँदैछ ।बेल्जियम समूह चरणको पहिलो खेलमा पानामासँग ३–० को जित, ट्यूनिसियासँग ५–२ र तेस्रो खेलमा इंग्ल्याण्डसँग १–० को गोल अन्तरले जित हात पार्दै समूह जी को विजेताका रुपमा प्रि–क्वार्टरफाइलनमा स्थान बनाएको हो ।
युरोप छनोटको समूह ‘एच’को विजेता बनेर १३ औं पटक विश्व कपमा सहभागी बेल्जियम यसपालिको विश्व कपमा युरोपबाट छनोट भएको पहिलो देश हो । बेल्जियम सन् १९३० मा भएको विश्व कपको पहिलो संस्करणमा समेत सहभागि थियो । यसपछि बेल्जियमले ११ संस्करणमा सहभागीता जनाई सकेको छ ।
तर पनि विश्व कप यात्राको १२ औं संस्करणसम्म बेल्जियमले १९८६ मा चौथो हुने बाहेकको उपलव्धी हांसील गरेको छैन् । यसपटक निकै शसक्त देखिएको बेल्जियम उपाधी दावेदारका रुपमा देखिएको छ ।
यता जापान भने समूह चरणको पहिलो खेलमा २–१ को जित, सेनेगलसँग २–२ को बराबरी र तेस्रो खेलमा ०–१ को पराजय व्यहोर्दा पनि फियर प्लेका आधारमा प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो ।
एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘बी’ को विजेता बन्दै रुसका लागि टिकट पक्का गरेको जापान लगातार सन् १९९८ देखि विश्व कपमा खेल्दै आएको राष्ट्र हो ।
पाँचौ पटक विश्वकपमा सहभागी जापानका लागि यो सहभागिता केहि उपलव्धीपूर्ण बनेको छ । जापान यसअघी पनि सन् २००२ मा आफ्नै देशमा भएको र २०१० को दक्षिण अफ्रिकामा भएको विश्व कपमा अन्तिम १६ सम्म पुगेको थियो ।
जापानले त्यसभन्दा अघिल्लो चरणको यात्रा तय गर्न सकेको छैन । एसियाली मुलुकबाट प्री–क्वार्टरफाइनलसम्म पुग्ने एक मात्र टोलीका रुपमा रहेको जापान आजको भिडन्तमा निकै आक्रामक रुपमा प्रस्तुत हुने प्रष्ट छ ।
बेल्जियम बलियो टोलीका रुपमा देखिएको हुँदा जापानलाई त्यति सहज भने देखिँदैन ।