राष्ट्रिय सभा उप–निर्वाचनका लागि आज मनोनयन दर्ता गर्नुपर्ने

होमल्याण्ड खबर

२०७८ बैशाख २४ गते, शुक्रबार १०:३२ मा प्रकाशित

निर्वाचन आयोगले आज शुक्रबार राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयनका लागि समय दिएको छ ।

जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि दलहरूले उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत विपक्षी दलहरूले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।

देवकोटा उम्मेदवारी दर्ताका लागि शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ । उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ ।

मा‌ओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा निर्वाचित भएका थिए । थापा एमालेमा प्रवेश गरेपछि माओवादीले कारवाही गरेर सांसद पद खाइदिएको थियो ।

रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको छ । गृहमन्त्री थापालाई एमालेले उम्मेदवार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्री केपी ओलीले केही समय अगाडि थापालाई उम्मेदवार बनाएर जिताउने बताएका थिए । जित्न नसक्ने भएपछि थापाले उम्मेदवारी दिन हच्किएका छन् ।