प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदैँ

होमल्याण्ड खबर

२०७८ बैशाख २७ गते, सोमबार १०:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदमा विश्वासको मत लिने लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन् ।

एमालेले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

तर, ओलीविरुद्ध पार्टीभित्र संर्घष गरिरहेका खनाल–नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतावपूर्वको अवस्थामा फर्काए आजको संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनले चेतावनी दिए ।

ओलीले विश्वासको मत माग्नुअघि सहमति नभए खनाल–नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । खनाल–नेपाल समूहलेपार्टी एकताका लागि आज बिहान ९ बजेसम्मको समय दिएको छ।

खनाल–नेपाल समूहले राजीनामा दिएको अवस्थामा भने प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छैन ।

यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि प्रधानमन्त्री ओलीलाई  विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने जनता समाजवादी पार्टी विश्वासको मतमा तटस्थ बस्ने भएको छ ।

विश्वासको मत लिँदा उनको पक्षमा बहुमत सांसद उभिए ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाउँछन् । तर, उनको पक्षमा बहुमत सांसदले भोट गरेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ ।

ओलीको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । राष्ट्रपतिको कार्यालयले समयसीमा तोकेर संसदलाई नयाँ सरकार गठनका लागि आग्रह गर्ने छ ।