ओलीले नेपाललाई फोन गरेर राखे भेटवार्ताको प्रस्ताव

होमल्याण्ड खबर

२०७८ बैशाख ३० गते, बिहीबार १२:५० मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग फोनवार्ता गरेका छन् ।

ओलीले आज फोनवार्ता मार्फत नेपाललाई भेटवार्ताको प्रस्ताव राखेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

ओलीको प्रस्तावमा नेपालले दुई घण्टापछि कुरा गर्ने प्रतिक्रिया जनाएको नेम्वाङले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको थियोे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन दिएको समय सकिन लाग्दा नेकपा एमालेका अध्यक्ष एंव कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले  स्थायी कमिटी बैठक बोलाएका थिए । उक्त बैठकले यस्तो निर्णय गरेको हो ।

एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत २३ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।