देउवा–दाहालको आँकलन : ओलीले विश्वासको मत नलिइ देशलाई मध्यावधि चुनावतिर लैजान्छन्

होमल्याण्ड खबर

२०७८ बैशाख ३१ गते, शुक्रबार १४:५३ मा प्रकाशित

बहुमतीय सरकार गठन गर्न नसकेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा) का नेताहरूले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मध्यावधि निर्वाचनतिर लैजान सक्ने आँकलन गरेका छन् ।

तीन दलका शीर्ष नेताहरूबीच आज शुक्रबार बुढानीलकण्ठमा भएको छलफलले यस्तो आँकलन गरेको हो । प्रधानमन्त्री ओलीको ईच्छा मध्यावधि भएको निष्कर्ष निकाल्दै उनीहरुले संसदमा बहुमतको खाजी नगरी देशलाइ मध्यावधितिर लैजाने उनीहरुको तर्क छ ।

जसपाको एउटा पक्षलाई तटस्थै राखेर ओली मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनीहरुको बुझाई छ । आजको बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल समूहका नेताहरुले सहयोग नगरेकोबारे गुनासो भएको स्रोतको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश गर्न नआएको भन्दै बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

यसरी नियुक्त प्रधानमन्त्रीले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ, नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुने छ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जान सक्छ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए र सरकारका लागि दाबी नै गर्न सकेनन् । दैनिक नेपालबाट साभार