ओली-नेपाल आज पनि भेट्दै, कार्यदल बनाउने तयारी

होमल्याण्ड खबर

२०७८ जेष्ठ १ गते, शनिबार १२:४३ मा प्रकाशित

सत्तारुढ दल नेकपा एमाले भित्रको मिलापका लागि प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल वीच आज पनि भेटवार्ता हुादैछ । दुई दिन यताको लगातार दुई नेता र दुई पक्षिय दोस्रो तहका नेतासहितको सम्वादले एमालेभित्रको अन्तरसंर्घष साघुरयाउने र विवाद मिल्ने दिशामा गएपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेताका वीचमा आज पनि भेटवार्ता हुन लागेको हो ।

भेटवार्ता साझतिर मात्र हुने भएको छ । भेट पछि विवाद मिलाउनका लागि कार्यदल गठन हुनेछ । शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको दुई पक्षिय नेताहरुको भेटवार्तापछि कार्यदल गठन गर्ने जिम्मा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई दिईएको थियो ।

कार्यदल मोटामोटी १० सदस्य बनाउने समझदारीमा दुवै पक्ष पुगेका छन् । शुरुमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय कार्यादल बनाउने प्रस्ताव गरेपनि नेता नेपालले अलिक ठूलो संख्यामा कार्यदल बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि नेताहरुका वीचमा कम्तीमा दुवै तर्फका नेताहरु समेटेर १० सदस्यीय सम्म कार्यदल बनाउने समझदारी बनेको थियो ।

सोही समझदारीका आधारमा दुवै नेताले आज आ-आफनो टिममा सामान्य परामर्शका आधारमा कार्यदलमा रहने नेताहरुको नाम टुंग्गो लगाउने बताईएको छ ।