नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ जेष्ठ ७ गते, शुक्रबार ०८:२१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

शुक्रबार बिहान ९ बजेका लागि सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफल गर्न कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हो।

आज बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बोलाएको देउवाका निजी सचिव भानु देउवाले जानकारी दिए।

राष्ट्रपति भण्डारीले बिहीबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।उनले नयाँ सरकार गठनका लागि आधारसहित दाबी पेश गर्न शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।

अल्पमतका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको भन्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।