होमल्याण्ड खबर
२०७८ जेष्ठ ९ गते, आईतवार १४:१६ मा प्रकाशित
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले थर्काएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले आवश्यक परे नाम र भ्वाइस रेकर्डसमेत सार्वजनिक गर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “व्यक्तिगतरुपमा मलाई चुनावबाट ब्याक हुन धेरैजनाले फकाए–थर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला । कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु । तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्ररुपमा कलम चलाउने बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामी जस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि सही गरेपछि, वचनबद्ध भएपछि पूरा गर्नुपर्छ ।
भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामीजस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र इमान्दारिताको राजनीतिबाट भागेर नहिडौँ । बोली र इमानमा कटिवद्ध होऔँ ।”