५ मंसिर २०८१, बुधबार
राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमका विरुद्ध कञ्चनपुरका ५ राजनैतिक दलले संयुक्त रुपमा विरोध जनाएका छन् । नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सभापति हरि प्रसाद बोहरा, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कञ्चनपुरका जिल्ला कार्यालय सदस्य देवेन्द्र ढुंगाना, नेकपा एमालेका जिल्ला सचिव रणबहादुर महरा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य माया नेगी र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
‘राष्ट्रपतिबाट प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्नु लोकतन्त्र र संविधानको हत्या गर्नु हो,’ विज्ञप्तिमा भनिएको छ – ‘यो प्रतिगामी कदमबाट देशमा नयाँ ध्रुविकरणभई देश झनै गम्भीर संकट तर्फ धकेलिएको छ। यो महामारी को समयमा निर्वाचन हुने कुनै सम्भावना नै छैन यो प्रधानमन्त्री को सत्ता लम्ब्याउने खेल मात्र हो ।’
नेताहरुले महामारीका बेलामा निर्वाचनको आवश्यकता नरहेको भन्दै प्रतिनिधि सभाको पुनर्बहाली गरि नयाँ सरकार निर्माण गरेर रोग र कष्टकर जीवन बिताइरहेका जनतालाई मलमपट्टी लगाउन र असंवैधानिक तथा प्रतिगामी कदम लाई सच्याउन राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्री बाट भएको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कार्य का विरूद्ध राजनैतिक तथा कानुनी रूपमा आन्दोलनलाई सशक्त रुपमा अगाडी बढाउदै नेपाली जनताको लामो आन्दोलन र बलिदान बाट स्थापित संविधान को रक्षा का लागि द्रीढतापुर्बक अगाडि बढ्न सम्पूर्ण राजनैतिक दल र आम जनतामा हार्दिक विज्ञप्ती मार्फत अपील समेत गरीएको छ ।