अर्थमन्त्रालयद्वारा शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने

होमल्याण्ड खबर

२०७८ जेष्ठ १३ गते, बिहीबार १२:५३ मा प्रकाशित

लामो विवाद र गलफत्तीपछि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउने भएको छ ।

यसका लागि पर्सि शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने भएका छन् । प्रतिनिधिसभा पुनस्थापना हुने सम्भावना रहेको र आर्थिक वर्ष साउनबाट मात्रै प्रारम्भ हुने भएकाले अध्यादेशबाट बजेट ल्याउन नहुने भन्दै सरोकारवालाहरुले आवाज उठाएका थिए । तर प्रधानमन्त्री केपी ओलीले त्यसको बेवास्ता गर्दै जेठ १५ मा नै बजेट ल्याउने भएका हुन् ।

यसका लागि अर्थमन्त्रालयले भोलि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको मन्त्रालय स्रोतले बताएको छ । भोलि दिउँसो २ बजे जुममार्फत सर्वेक्षण सार्वजनिक गरिने भएको हो । यस प्रयोजनका लागि सीमित पत्रकार र फोटो पत्रकारलाई मन्त्रालय प्रवेश गर्न दिइने पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण अर्थात बजेट भने शनिबार अपरान्ह् ४ बजे बालुवाटारबाट सार्वजनिक गरिने जानकारी पनि मन्त्रालयले दिएको छ । चुनाव घोषणा भएकाले सरकारले पपुलिष्ट बजेट ल्याउने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले यसपटक बृद्ध भत्ता बढाउने घोषणा यसअघि नै गरिसकेका छन् । साथै, यसपाली निजामती कर्मचारीको तलव भत्तासमेत बृद्धि हुने बताइएको छ ।