देउवा निवासमा सुरु भयो विपक्षी गठवन्धनका नेताहरुको बैठक

होमल्याण्ड खबर

२०७८ जेष्ठ १६ गते, आईतवार १०:४२ मा प्रकाशित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक सुरु भएको छ ।

प्रतिनिधी सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेको सरकारले संसद विघटनको मुद्धा अदालतमा रहेको र अध्यादेशमार्फत सरकारले पूर्ण आकारको बजेट ल्याउन नपाउने विधिको उलङ्घन गरेको र मतदातालाई प्रभावित पार्ने गरी चुनावी बजेट सबै क्षेत्रतिर छरेर ल्याएको विषयमा छलफल गर्न देउवा निवासमा विपक्षी गठवन्धनका ५ दलको बैठक बसेको हो ।

बैठकमा कांग्रेस सभापति देउवासहितका कांग्रेस नेताहरु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरु र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितका नेता, एमालेकै माधव नेपाल सहित नेपाल पक्षका नेता र राष्ट्रिय जनमोर्चाका नेताहरु पनि सहभागी छन् ।

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तदेखि कानुन व्यवसायी, अर्थशास्त्रीहरुसम्मले अध्यादेशमार्फत पूर्ण आकारको बजेट नल्याउन र नीति निर्माणमा हस्तक्षेप गर्ने कुनै पनि विषय बजेटमा नसमेट्न आग्रह गरिरहँदा त्यसलाई अटेर गरेर सरकारले हिजो मात्रै आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएको थियो ।

चौतर्फी दबाब तथा सुझाव र संविधानको मर्मविपरीत चुनावी सरकारले मतदाता प्रभावित पार्ने गरी अध्यादेशबाट बजेट ल्याएको र त्यो पनि जताततै छरेर बजेट ल्याइएको भन्दै विपक्षीहरुले सरकारको आलोचना गरिरहेका छन् । यस विषयमा पनि विपक्षी गठवन्धनले साझा धारणा बनाउने र प्रतिक्रिया दिने तयारीका लागि आजको बैठकमा छलफल गर्ने बताईएको छ । यस्तै अदालतको संवैधानिक इजालसमा शुरु भएको प्रतिनिधी सभा विघटनको मुद्धाका विषयमा पनि छलफल हुने बताईएको छ ।