संविधान र लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउन आग्रह

होमल्याण्ड खबर

२०७८ जेष्ठ १६ गते, आईतवार १५:०६ मा प्रकाशित

नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्ध रुपमा सशक्त आवाज उठाउन र दृढतासाथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा विपक्षी गठबन्धनले आह्वान गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ‘संविधानविपरीत र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन’ राज्यका सबै अङ्ग र निकायलाई आग्रह गरेको छ। बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको जनाउँदै देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ।

विज्ञप्तिमा कांग्रेस सभापति देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्।
संघीय संसदमा पेस हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइएकामा रोष प्रकट गर्दै विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप पनि लगाइएको छ। संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास गठबन्धनले व्यक्त गरेको छ । -रासस