प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक, के के छन् एजेण्डा ?

होमल्याण्ड खबर

२०७८ जेष्ठ २१ गते, शुक्रबार ०७:३४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । ‘सर्वोच्चले काममा गरेको संकुचनका विषयमा फुल कोर्टको बैठकमा छलफल हुन्छ । यसका अलावा विविध विषय पनि छ’ ढकालले भने ।

विविध विषयमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत छलफल हुन सक्ने ढकालले बताए । जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।

 

‘न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्न सक्नुहुन्छ । प्रधानन्यायाधीशले पनि उठाउन सक्नुहुन्छ । आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्छ’ उनले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजलासमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।