नागरिकता अध्यादेश विरुद्धका रिटको सुनुवाइ हेर्दाहेर्दैमा

होमल्याण्ड खबर

२०७८ जेष्ठ २१ गते, शुक्रबार १५:२१ मा प्रकाशित

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । अब अर्को सुनुवाई जेठ २७ गते हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

रिटमा निवेदकले उक्त अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेका थिए, तर प्रारम्भिक सुनुवाई नै नसकिएपछि अन्तरिम आदेश जारी भएन । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ७ वटा रिट निवेदन परेको छ ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीको तर्फबाट रिट परेको छ । अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार शर्माले पनि रिट दर्ता गरेका छन् । सबै रिटमा अध्यादेश खारेजीको माग गरिएको छ ।