२८ फाल्गुन २०८२, बिहीबार
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेका छन् । निवर्तमान सहरीविकास राज्यमन्त्री रामवीर मानन्धरले माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीसँग भेटेर सरकारमा सहभागी हुनको लागि प्रस्ताव राखेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । अहिले प्रधानमन्त्री ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच पानी बाराबारको सम्बन्ध छ ।
दाहाल ओलीलाई प्रधानमन्त्रीबाट जसरी पनि विस्थापित गर्न लागिपरेका छन् । यसको लागि दाहालले कांग्रेस, नेकपा (एमाले) को माधव कुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चासँग मोर्चा कसेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धनले सर्वोच्चमा रिट हालेका छन् । विपक्षी गठबन्धनबाट १४६ जना सांसद सशरिर अदालत उपस्थित् भएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने प्रस्ताव राखेको खुल्न आएको छ ।

