संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

होमल्याण्ड खबर

२०७८ जेष्ठ २६ गते, बुधबार ०८:१५ मा प्रकाशित

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमवार समस्या देखिएपछि सुनुवाइ आजका लागि सारिएको थियो । प्रधानन्यायाधिशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतवार गठन गरी सुनुवाइ शुरू गरेर हेर्दाहेर्दैमा सोमवारका लागि राखिएको थियो ।

प्रधान्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधवारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए। इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । विवादमा ३० वटा रिट निवेदन परेका छन्।