२८ फाल्गुन २०८२, बिहीबार
केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुगेको छ । निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ । बहुमत सदस्यको नामावली पुर्याउन नसकेपछि नयाँ पार्टी बनाउने सोचमा पुगेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताए ।
निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ । कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको ती नेताले बताए ।


नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।