कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ असार ३ गते, बिहीबार ०८:३५ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठक विशेष गरी पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।

कांग्रेसले कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने तयारी गरेको छ ।

गत शनिबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले पार्टीको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव गरेको थियो ।

पदाधिकारी बैठकको प्रस्तावमा छलफल गरी केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ ।

यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका कोरोना महामारीका कारण प्रभावित भइसकेको छ ।

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने लक्ष्य राखेकोमा अहिलेसम्म क्रियाशील सदस्यको संख्या ८ लाख पुगेको छ ।