२८ फाल्गुन २०८२, बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पोखरेलले आज प्रदेशसभामा बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन् । उनले पेस गरेको प्रस्तावमाथि अहिले छलफल सुरु भएको छ ।
मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसा। मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत मागेका हुन् ।


संविधानको धारा १६८ को उपधारा ५ अनुसार चार दल र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले सोही धाराको उपधारा ६ बमोजिम विश्वासको मत लिन मागेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि प्रदेशसभा सदस्यको संख्या ५९ भएको हो ।
मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ३० सांसदको समर्थन आवश्यक पर्दछ । यसअघि उनी मुख्यमन्त्री बन्दा ३१ जनाले समर्थन गरेका थिए ।
प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका दुई–दुई जना र एक जना स्वतन्त्र सांसद गरी ५९ सांसद रहेका छन् ।
मुख्यमन्त्री पोखरेललाई एमाले बाहेकका सबै सांसदहरुको समर्थन रहेको छ ।