२८ फाल्गुन २०८२, बिहीबार
जनता समाजवादी पार्टी फुटको दिशामा गएको छ । निर्वाचन आयोगले सकेसम्म मेलमिलापवाट जसपाभित्रको विवाद मिलाउन सकिन्छ की भनेर आज दुवै पक्षका ७-७ नेतालाई आयोगमा वोलाएर छलफल गरेको थियो । तर आयोगमा भएको छलफलमा दुवै पक्षले विगतका विवादमा आत्मालोचित हुँदै एक भएर जान गरेको प्रस्तावमा उपेन्द्र यादव पक्षले सहमत हुन नसक्ने धारणा राखेपछि विवाद जहाँको त्यही अड्किएको हो ।
आयोगमा उपेन्द्र यादव पक्षले पार्टी आधिकारिकताका लागि निवेदन दिएका थिए । त्यसमा महन्थ पक्षले जवाफ दिएपछि आयोगले आज दुवै पक्षलाई बोलाएर छलफल गरेको हो । तर छलफलमा दुवै पक्ष आ – आफनो अडानमा रहे । त्यसपछि आयोग पदाधिकारीकै उपस्थितीमा दुवै पक्षले त्यही वसेको छलफलको निर्णयको माइन्यूटमा ‘हामी मिल्ने कुरामा सहमत हुन सकेनौं, आ –आफनो वाटो लाग्छौं’ भनेर हस्ताक्षर गरेर फर्किएका छन् ।


आयोगले दुवै तर्फका वढीमा ७-७ जनालाई आयोगमा वोलाएको थियो । जसअनुसार उपेन्द्र यादव, अशोक राई , राजेन्द्र श्रेष्ठ लगायत नेताहरु आयोग पुगेका थिए । अर्काे पक्षवाट महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेता आयोग पुगेका थिए ।
जसपा एक वर्ष अगाडी मात्रै तत्कालिन राजपा र समाजवादी पार्टी मिलेर बनेको थियो । एक वर्षकै अन्तरालमा यो पार्टी फुटको वाटोमा गएको हो ।
आयोगले गराएको छलफलमा दुवै पक्षले मिल्न सम्भव नभएको वताएपछि अव आयोगमा दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटाएर दुवै पक्ष आयोगवाट वाहिरिएका थिए ।
जसपाको केन्द्रीय कार्याकारिणी समिति ५१ सदस्यीय थियो । जसमा उपेन्द्र –बाबुराम पक्षको बहुमत छ । तर महन्थ पक्षले पार्टीको पहिलो वरियताका अध्यक्षलाई केन्द्रीय कार्याकारिणी समिति हेरफेर गर्न सक्ने अधिकार दिएकोले नामावली हेरफेर भईसकेको जिकिर गरेको छ ।
यद्यपी अव आयोगले दिने निर्णय निर्णायक हुनेछ । त्यसमा चित्त नवुझेमा चित्त नवुझेको पक्ष अदालत सम्म पनि जान पाउनेछ ।