माओवादी केन्द्रविरुद्ध उजुरी दिन बादल समूह निर्वाचन आयोगमा

होमल्याण्ड खबर

२०७८ असार २३ गते, बुधबार १५:५३ मा प्रकाशित

माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोगमा उजुरी दिन पुगेका छन् । माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन पुगेका हुन् ।

‘बादल’ सहित लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका छन् । २०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको बादल समूहको दाबी छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए । माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेको थियो । पार्टीले कारबाही गरेसँगै उनीहरु पदमुक्त भएका थिए ।