कांग्रेसको १४ औँ महाधिवेशन : बझाङमा सुरू भयाे चुनावी चहलपहल

होमल्याण्ड खबर

२०७८ असार २४ गते, बिहीबार १३:५१ मा प्रकाशित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरेपनि भित्रभित्रै कसरत भने शुरुआत भइसकेको जनाइएको छ । कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाहअनुसार अगाडि बढ्ने भन्दै कसरत शुरु हुन थालेको छ ।

आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा १० गाउँपालिका र २ नगरपालिकाका ९४ वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पूर्व पार्टी सभापति पृथ्वीबहादुर सिंहले बताए ।
उनले भने, “हाल जिल्लामा कोही पनि नेता नआएकाले आधिकारिकरूपमा सभापतिका लागि कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लागेको छैन । सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ । सामाजिक सञ्जाल हेर्दा त आकाङ्क्षी धेरै देखिएका छन् ।

पार्टीले बैठक बोलाएको छैन, साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ । बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन । अब सर्वोच्चको निर्णयलाई पर्खिरहेका छौँ, सहमतिमै सभापति चयन गर्छौँ ।”

गाउँपालिका तथा नगरपालिकाबाट गरी जम्मा एक हजार ५०४ जना सहभागी हुने भएका छन् । उनले भने “धेरै आकाङ्क्षी हुनु स्वभाविकै हो । कांग्रेसमा सबैको योगदान छ । हामी अहिले चुनाव नगरेर सहमति तथा मिलोमतो गरेरै सभापति चुन्ने प्रयासमा छौँ । ” पार्टीको बैठक बसेपछि सभापति पदका आकाङ्क्षीका थाहा हुनेसमेत पूर्वसभापति सिंहले बताए ।