संघीय संसदको अधिवेशन आज सुरु हुँदै, देउवालाई समर्थन गरेको माधव नेपाल समूह कता बस्ला ?

होमल्याण्ड खबर

२०७८ श्रावण ३ गते, आईतवार १०:३० मा प्रकाशित

संघीय संसदका दुबै सदनको अधिवेशन आज सुरु हुँदै छ । प्रतिनिधि सभाको आठौं र राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु हुन लागको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनको बैठक अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सत्तारुढ दलको रुपमा उपस्थित हुनेछन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विघटन गरेको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्वन्धी पत्रको व्यहोरा जानकारी गराउने, मनत्रीमण्डल गठनबारे जानकारी गराउने बैठकको अध्यक्षता गर्ने व्यक्ति चयन गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।