२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेका थिए ।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ । जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ ।’ प्रधानमन्त्री देउवाले शुक्रबार र शनिबार बालुवाटारमा पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो।
कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन् ।

