२९ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिपरिषद् विस्तार नगर्ने भएका छन् । बुढानीलकण्ठ स्रोतले सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डा टुंगिन बाँकी रहेकाले अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने जानकारी दियो । ‘सत्ता गठबन्धनबीच पावर शेयरिङ टुंगिएको छैन । पावर शेयरिङ टुंगिन एक साता लाग्छ,’ बालुवाटार स्रोतले भने ।
अहिलेसम्म प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सरकारमा सहभागी हुने/नहुने एकिन भएको छैन । स्रोतले नेता नेपालले आफूहरूलाई नयाँ पार्टी बनाउन कानुनी प्रावधान खुकुलो बनाइदिएर नयाँ पार्टी बन्न सक्ने अवस्थामा सरकारमा सहभागी हुन सक्ने संकेत दिएका छन् । त्यसका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्न देउवाले अन्य सत्ता गठबन्धन दलका शीर्ष नेतासँग अनौपचारिक कुराकानी गरिरहेका छन् ।


तीन साउनमा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका देउवाले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी बनाउन चाहेका छन् ।
अझ देउवाले त सर्वदलीय सरकारको प्रस्ताव पनि गरेका छन् । देउवाको त्यो प्रस्ताव एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले मान्ने सम्भावना नरहेकाले अन्य दललाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ । अहिलेसम्म अनौपचारिक छलफल भएपनि औपचारिक रुपमा सत्तामा पावर शेयरिङबारे कुरा भएको छैन ।