गण्डकी प्रदेशमा कांग्रेस र माओवादीबाट ६ मन्त्री थपिए

होमल्याण्ड खबर

२०७८ श्रावण ८ गते, शुक्रबार १३:४१ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

तनहुँका दोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्ति गर्ने तयारी भएपनि अन्तिम समयमा आएर उनको ठाउँमा कास्कीका विन्दुकुमारलाई मन्त्रीमा नियुक्त गरेपछि कांग्रेस भित्रै विवाद देखिएको छ ।

रामचन्द्र पौडेल निकटा मानिने विश्वकर्मा मन्त्री बन्ने निश्चित थियो । उनलाई मुख्यमन्त्री नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन चाहेका थिए ।
तर, मुख्यमन्त्री सचिवालयले सपथको केहीबेर अघि मात्र उनको ठाउँमा कास्कीका थापा मन्त्री बन्ने जानकारी गरायो ।

नवनियुक्त मन्त्रीहरुको कार्यविभाजन भने टुंगिएको छैन ।