होटल, रेष्टुरेन्टमा कडाइ गर्दै काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी

होमल्याण्ड खबर

२०७८ श्रावण १० गते, आईतवार १०:०९ मा प्रकाशित

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । कोरोना संक्रमण बढ्दै गएकाले केही क्षेत्रलाई फेरि कडाइ गर्दै निषेधाज्ञा थपिन सक्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यसबारे आज अपराह्न ४ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय लिइने उनले बताए । संक्रमण फेरि बढेकाले होटल रेष्टुरेन्टसहितका केही निश्चित क्षेत्रमा केही कडाइ गर्दै कम्तीमा एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।

काठमाडौँ उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसायसहित सार्वजनिक यातायात खुला भएपछि फेरि संक्रमण बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।