२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको प्रस्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ ।
यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन् ।’ उनले केपी ओली नेतृत्वको सरकारका बेथिति उजागर गर्दै अगाडि भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’

