२९ फाल्गुन २०८२, शुक्रबार
सांसदले मुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गरे ।
बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढीरपहिरोबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए ।


सोही पार्टीका अर्का सांसद देवेन्द्रराज कँडेलले वैदेशिक रोजगारमा जाने युवाको भविष्य अन्योलमा रहेकाले सहजीकरण गर्न आग्रह गरे । काँग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको नौगाडमा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको र पुल बगाएको, खानेपानी आयोजनामा क्षति पुर्याएको जानकारी दिँदै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।
अर्का सांसद पुष्पा भुसालले विगतको सरकारका कारण कोभिड–१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गरिन् । बैठकमा सांसद डा।दीपकप्रकाश भट्ट, दुर्गबहादुर राउत, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, दामोदर भण्डारी, दिल कुमारी, दिव्यमणि राजभण्डारी, धर्मशीला चापागाईं, नन्दलाल रोका, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, निरादेवी जैरु, निरुदेवी पाल, पद्मनारायण चौधरी, पवित्रा निरौला खरेल, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रकाश रसाइली, प्रमिला राईलगायतले भनाइ राखेका थिए ।- रासस