२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् ।
‘उहाँहरू (माधवजी) लाई अहिले नै सरकारमा सहभागी हुन समस्या छ, व्यक्तिगत रूपमा आउने कुरा बेग्लै भयो’, प्रचण्डले बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अब तत्काल उहाँहरू नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प छैन ।’ आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गरेका थिए ।


त्यस्तै माओवादीले मन्त्रिमण्डलमा जाने नेताहरूको नामबारे सोमबार बैठक बसेर टुङ्गो लगाउने भएको छ । ‘सरकार गठनलाई पूर्णता दिने सम्बन्धमा भोलि पुनः बैठक बसेर निर्णय गर्नेछ । आज अध्यक्ष प्रचण्डले सत्ता घटकहरूसँग बसेर छलफल गर्नुहुनेछ,’ नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै उनले पार्टीबाट सरकारमा जाने नेताहरूका बारेमा अध्यक्ष प्रचण्डलाई निर्णय गर्ने अन्तिम अधिकार दिइनसकेको पनि बताए । बैठकले महाकाली नदीमा तुइनबाट खसेर बेपत्ता भएकोप्रति बैठकमा गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाबारे सरकारलाई छानबिन गर्न र दोषीलाई कारबाहीका लागि भारतसँग पहल गर्न माग गरेको छ ।