एमाले स्थायी कमिटी बैठक बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण १८ गते, सोमबार ०८:३१ मा प्रकाशित

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजोको बैठकले सबै स्थानीय तहको अधिवेशन आगामी असोज ९ गतेभित्र गरिसक्ने निर्णय गरेको थियो । बैठकले साउन २३ गतेभित्र पार्टी सदस्यता नवीकरण र अद्यावधिक गर्न जिल्ला कमिटीहरुलाई निर्देशन पनि दिएको छ । यस्तै बैठकले २७ साउनभित्र संगठित सदस्यता नवीकरण गरिसक्ने निर्णय पनि गरेको छ ।

भदौ २७ र २८ गतेका लागि तय गरिएको विधान अधिवेशन सम्पन्न गर्नका लागि सदस्यता नवीकरणलाई तोकिएकै समयमा सक्न बैठकले सुझाव दिएको छ । बैठकले असोज ३ गते वडा तहको अधिवेशन गर्ने खाका समेत तयार पारेको छ ।

एमालेले स्थानीय तहको अधिवेशन गर्ने निर्णय अनुमोदनका लागि यही साउन २४ गते केन्द्रीय कमिटी बैठक पनि आह्वान गरेको छ ।

पार्टीभित्र चरम विवाद भएपछि अहिलेसम्मका बैठकमा माधव नेपाल समूह भने उपस्थित भएको छैन । तर बेला बेलाका बैठकमा उपाध्यक्ष वामदेव गौतम भने उपस्थित हुने गरेका छन् ।

अध्यक्ष केपी ओली पक्षले एमाले विवाद समाधान कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावका आधारमा पार्टी एकता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै आएको छ भने वरिष्ठ नेता नेपालले अस्विकार गर्दै आएका छन् ।

माधव नेपाल सम्मानजनक एकताको वातावरण नभएसम्म एकता सम्भव नरहेको बताउँदै आएका छन् ।