सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै

होमल्याण्ड खबर

२०७८ श्रावण २० गते, बुधबार ०८:११ मा प्रकाशित

सरकार सञ्चालनका लागि गठित पाँच दलीय गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ ।

हिजो साँझ बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदललाइ आज सम्ममा प्रतिवेदन बुझाइसक्न निर्देशन दिएको थियो ।

हिजो बसेको कार्यदल बैठक कार्यक्रमलाई अन्तिमरूप दिन आज बस्ने गरी सकिएको थियो ।

कार्यदलले भोलि–भोलि भन्दै समय लम्ब्याउँदै गए पनि न्यूनतम साझा कार्यक्रम, आचार संहिता तथा सरकार सञ्चालन कार्यविधि तयार पार्न सकेको छैन ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै  मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।

कार्यदलमा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन् ।