केन्द्रीय कमिटी अघि नेपाल पक्षको स्थायी समिति बैठक जारी

होमल्याण्ड खबर

२०७८ श्रावण २१ गते, बिहीबार ११:५७ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी अघि माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ ।

बैठक बुद्धनगरस्थित एक ब्यांक्वेटमा बसेको हो । बिहिबार कै लागि बोलाइएको केन्द्रीय कमिटी बैठक बारे थप एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको बुझिएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना र नयाँ सरकार बनेपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।

विघटित कार्यदलका सदस्यले दुई शिर्ष नेताको वार्ता गराउने बताए पनि दुवैजना बिचको तिक्तता प्रष्ट देखिने गरेको छ । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ ।

ओली पक्षले बैठक अवैधानिक भएको पनि बताएको छ । माधव समूहले पार्टी फुटाएर जान केन्द्रीय कमिटीको म्यान्डेट लिनका लागि बैठक राखेको एमालेको केपी ओली पक्षले आरोप छ । माधव नेपाल पक्ष कसरी अगाडि बढ्छ भन्ने टुंगो लागिसकेको छैन ।

तर यो समूहले छुट्टै बैठक बोलाएपछि एमालेमा हुँदै आएको एकता प्रयास अवरुद्ध भएको र मिल्ने सम्भावना कम हुन थालेको विश्लेषण हुन थालेको छ ।