२९ फाल्गुन २०८२, शुक्रबार
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत प्राधिकरणमा दोस्रो पटक नियुक्ति लिएर आएको बताएका छन् । बुधबार प्राधिकरणमा उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सबैको सहयोग र टीमवर्कलाई विश्वास राख्दै आफूले प्राधिकरणलाई उचाइमा पुर्याउन प्रयास गर्ने बताए ।
‘दोस्रो कार्यकालका लागि ठूलो चुनौती स्वीकारेर आएको छु । यो जति ठूलो चुनौति मलाई अरु केही हुनेछैन’, घिसिङले भने, ‘दोस्रो कार्यकालमा आउनै पर्छ भन्ने पनि थिएन। तर प्राधिकरणको आवश्यकता र सरकारले जिम्मेवारी दिने किसिमको जुन आएपछि नेतृत्व गर्न आइपुगेको छु ।’ विगतदेखि नै आम पब्लिकले प्राधिकरणमा फेरि आएर नेतृत्व गर्न आफ्नो पक्षमा अभियान चलाएको स्मरण गर्दै घिसिङले सबैले आफूप्रति गरेको विश्वास कायम राख्न लागिपर्ने बताए ।


‘सरकारले दिएको जिम्मेवारी दिएको र मन्त्रीज्यूले दिएको निर्देशनअनुसार ऊर्जा क्षेत्रलाई हाइटमा लैजाने प्रतिबद्धता जाहेर गर्न चाहन्छु’, उनले भने। घिसिङले आफूलाई सरकारले ४ वर्षका लागि नियुक्त गरेको र यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई पनि ४ वर्षकै लागि ऊर्जा आयोगमा सम्मानजनक हैसियतमा पठाइएको बताए ।