एमालेले सोध्यो लुम्बिनीमा मन्त्री बनेका अजय शाहीलाई स्पष्टीकरण

होमल्याण्ड खबर

२०७८ श्रावण २९ गते, शुक्रबार १२:०० मा प्रकाशित

नेकपा एमालेले लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीलाई स्पष्टीकरण सोधेको छ । सूर्य चुनाव चिह्नबाट निर्वाचित शाही मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको हो ।

एमाले  संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालको हस्ताक्षरमा सोधिएको स्पष्टीकरण तीन दिनभित्र आफैं दलको कार्यलयमा उपस्थित भई स्पष्टीकरण दिन भनेको छ । उक्त समय अवधिमा चित्त बुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको छ ।

स्पष्टीकरण पत्रमा शाहीले असार ३० गते बजेट पारित गर्ने दिन प्रदेश सभामा अनुपस्थित भई पार्टीको ह्वीप उल्लंघन गरेको र साउन २७ गते प्रदेश सभा बैठक बहिस्कार गर्ने पार्टी निर्णय विपरीत बैठकमा उपस्थित भएको उल्लेख छ ।

हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहमा रहेका शाही चार दलीय गठबन्धनमा सामेल हुँदै हिजो विनाविभागीय मन्त्री नियुक्त भएका थिए ।