२९ फाल्गुन २०८२, शुक्रबार
जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले पार्टीलाई सुदृढ र सङ्गठित गर्दै उत्पीडित समुदायको मुक्तिका लागि क्रियाशील हुने बताएका हुन् । जसपा आफूहरूले दुःख गरेर बनाएको पार्टी भएकाले कार्यकर्ता र सङ्गठन बलियो भएको उनिहरुको दाबी छ ।
जसपाका अध्यक्ष ठाकुरले समावेशी लोकतन्त्रका लागि लामो समयदेखि सङ्घर्षरत जसपा पिछडिएका र बहिस्करणमा परेका समुदायको अधिकार र पहिचानका लागि थप सक्रिय भएर अगाडि बढ्ने बताए ।


जसपा ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोले ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गर्दै प्रलोभनमा परेर गएकाले पार्टी आधिकारिक हो भन्नुको कुनै अर्थ नरहेको तर्क गरे । उनले केही सदस्य सङ्ख्या देखाउँदैमा पार्टी नहुने र पार्टीका लागि कार्यकर्ता र सङ्गठन चाहिने भन्दै यस्तो शक्ति आफूहरूको पक्षमा रहेको जिकिर गरे।
जसपाका अर्का नेता सरतसिंह भण्डारीले जसपा आफूहरूले बनाएको पार्टी भएको भन्दै यसले उत्पीडनमा परेका समुदायको हक अधिकारका लागि सङ्घर्षरत रहेको बताए ।