कांग्रेस क्रियाशील सदस्यले गाउँनगरको कार्यसमिति निर्वाचनमा मतदान गर्न नपाउने

होमल्याण्ड खबर

२०७८ श्रावण ३१ गते, आईतवार १३:४४ मा प्रकाशित

नेपाली कांग्रेसले विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्थालाई  संशोधन  गरेको छ  । संशोधित विधान अनुसार क्रियाशील सदस्यले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमितिको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । ।अब  वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका मतदाता हुने व्यवस्था कांग्रेसले गरेको छ।

पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ(नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने समेतको व्यवस्था  गत शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले  गरेको हो ।

सभापतिबाहेक कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार भने क्रियाशील सदस्य पनि बन्न व्यवस्था गरिएको छ । यसका लागि  वडा सभापति र क्षेत्रीय प्रतिनिधि मतदाता हुने व्यवस्था  कांग्रेसले गरेको छ। 

अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सन्दर्भमा विधान र नियमावलीमा भएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने व्यवस्थालाई पनि संशोधन कांग्रेसले संशोधन गरेको छ ।

विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख  अनुसार गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर, उपमहानगर, महानगरपालिका क्षेत्र भित्रका कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य’ भनिएकोमा गाउँपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने’ निर्णय केन्द्रीय समितिबाट भएको छ।

विधान  संशोधनलाई आगामी महाधिवेशनबाट अनुमोदन गर्ने पार्टीको तयारी रहेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।