‘मापसे’ सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै महेश बस्नेतको आपत्ति

होमल्याण्ड खबर

२०७८ श्रावण ३२ गते, सोमबार १६:१६ मा प्रकाशित

नेकपा एमालेका सांसद महेश बस्नेतले वर्तमान देउवा सरकारलाई मापसे सरकारको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै नेता बस्नेतले वर्तमान सरकारलाई परमादेश सरकार भन्दा सत्तापक्षका सांसदहरूलाई टाउको दुख्ने गरेको भन्दै आफूलाई ‘एकजना कलाकारले दिएको सुझाव अनुसार यो सरकारलाई मापसे सरकार भन्ने बताए ।

‘किनभने माधव नेपालको आडमा प्रचण्डको सहयोगमा शेरबहादुर देउवाले नेतृत्व गरेको हुनाले मापसे सरकार’, बस्नेतले भने । उनले मापसे सरकारले संसद् अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै विरोध समेत गरे ।

‘मापसे सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद् अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ बस्नेतले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय गर्यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’