अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०७८ श्रावण ३२ गते, सोमबार १९:४६ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाएका हुन्।

उनले नेपाल फर्काएपछि उनीहरुलाई कोभिड– १९ महामारीको सन्दर्भमा पिसीआर परीक्षण, होल्डिङ सेन्टर, क्वारेन्टिनलगायत व्यवस्था गरी उनीहरुलाई घरसम्म पु¥याउने गरी कार्ययोजना बनाउनु पर्ने समेत बताएका छन् ।

मन्त्री खाँणले मन्त्रिपरिषद्को बैठकले आजै अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गरेको जानकारी दिँदै सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिए ।

बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत विभिन्न मन्त्रालयका अधिकारीले अफगानिस्तानमा रहेका नेपालीको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए ।