नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने

होमल्याण्ड खबर

२०७८ भाद्र २ गते, बुधबार १७:३७ मा प्रकाशित

निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ।

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्दै माधवकुमार नेपाल पक्षले एमाले समाजवादी र महन्थ ठाकुर पक्षले जसपा लोकतान्त्रिक नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्राप्त निवेदनमाथि प्रक्रिया पुर्‍याएर दल दर्ता गर्न ३५ दिनको समय लाग्ने बताएका छन्। निवेदन औपचारिक रुपमा आयोगमा दर्ता भएको र उक्त निवेनमाथि अब प्रक्रिया सुरु हुने उनको भनाइ छ।