२९ फाल्गुन २०८२, शुक्रबार
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले आफू एमाले एकताको लागि पहल गर्न मुख्यमन्त्री पद छाडेको बताएका छन् ।
बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएलगत्त्तै अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएपछि बिहीबार बिहान पौडेलले पत्रकारसँग भेटघाट गर्दै आफू प्रतिष्ठाभन्दा पनि एमाले एक बनाउने पक्षमा रहेको बताए । ‘कसैको दबाब र असफलताका कारण राजीनामा दिएको होइन,’ उनले भने, ‘हाम्रो प्रदेशका एमाले सांसदहरूलाई एकै ठाउँमा उभ्याएर देशभर पार्टी एकताको सन्देश दिने उद्देश्यले मैले राजीनामा दिएको हुँ।’


उनले पार्टीलाई एक बनाएर लैजानुपर्छ भन्ने अभियानमा लागेकाले शाक्यलाई नेतृत्व सुम्पिएको धारणा राखे । ‘४२ महिना सरकार सञ्चालन गर्दा जनताको हितमा धेरै काम गरिएको छ। यति छोटो समयमा कुनै प्रदेश सरकारले पनि हामीले जति काम गर्न सकेका छैनन,’ उनले भने। निवर्तमान मुख्यमन्त्री पौडेलले शाक्यले सदनबाट विश्वासको मत लिन नपर्नेसमेत दाबी गरेका छन् ।