२९ फाल्गुन २०८२, शुक्रबार
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई दल दर्ताका लागि सनाखत गर्न बोलाएको छ ।
आयोगको आज बसेको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि भदौ ९ गते केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो । आयोगले भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखत गर्ने भएको हो । त्यसका लागि आयोगले उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको छ । सनाखतपछि सोही दिन दल दर्ता हुन सक्ने आयोगले जनाएको छ ।


सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि नेपाल र ठाकुर पक्षले नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
तर उनीहरुले प्रस्ताव गरेको नयाँ पार्टीको नाम अर्को पार्टीको नामसँग मिल्नेभएपछि आयोगले उक्त प्रस्ताव अस्वीकार गरेको थिए । त्यसपछि आज नेपाल समूहले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र ठाकुर समूहले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्नका लागि निवेदन दिएका छन् ।