होमल्याण्ड खबर
२०७८ भाद्र ७ गते, सोमबार ११:४० मा प्रकाशित
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् । सोमबार विहान पौने ९ बजेबाट बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा पौडेल पक्षीय शीर्ष नेताबीच छलफल भइरहेको छ ।
१४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्न नेताहरु बैठकमा बसेको स्रोतले जानकारी दियो ।काँग्रेसमा बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद थियो ।
उक्त विवाद टुङ्ग्याउन काँग्रेसमा नीतिगत सहमति जुटेपनि व्यवहारिक पक्ष मिलाउन बाँकी छ । आइतबार नै विवाद टुङ्ग्याएर सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर विवाद समाधानको जिम्मेवारी पाएका नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले व्यवहारिक पक्ष मिलाउन सकेनन् ।
साउन ३० गतेको केन्द्रीय समिति बैठकले भदौ ३ गते नै सभापति देउवालाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिए पनि ७ गतेसम्म काम हुन सकेको छैन । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयले सभापति देउवासँग छलफल गरेका थिए । उनी आज १ बजे बैठक बसेर विवादको निकास खोजी आजै ५ बजे सभापतिलाई बुझाउने तयारीमा छन् । यसै सन्दर्भमा समूह धारण बनाउन पौडेल पक्ष बैठकमा बसको हो ।