ओली निवासको छलफल : एमाले स्थायी कमिटी बैठक भोलि, तेस्रो धार पनि सहभागी हुने

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १५:२० मा प्रकाशित

नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि भोलि स्थायी कमिटीको बैठक डाकिएको हो ।

एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने छन । भोलिको बैठकबाट दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।

आफूहरूसहितको सहमतिमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्नुपर्ने र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेका नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाट ग्यारेन्टी मागेका थिए । नेतृत्वले कार्यान्वयनको प्रतिबद्धता जनाएपछि उनीहरू मंगलबारको बैठकमा सहभागी हुन तयार भएका हुन ।

नेपाल समूहसँग रहेका, तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई आजसम्मको अल्टिमेटम दिएका थिए । उनीहरु विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।