नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो–भट्टराई

होमल्याण्ड खबर

२०७८ भाद्र ७ गते, सोमबार १६:५० मा प्रकाशित

नेकपा एमालेका सचिव एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताएका छन । आज अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताएका हुन ।

‘आज माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ । उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो’ नेता भट्टराईको भनाइ छ ।

यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो । अब उहाँ पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ’ भटराईले सञ्चारकर्मीसँग भने ।

अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरूलाई माधव नेपाल नयाँ पार्टी दर्ताको प्रक्रियाबाट फर्कन्छन् भने कारवाही पनि फिर्ता हुने बताएको एमालेका सचिव एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए ।