२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ दिने सांसदको व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छन् । प्रतिनिधि र प्रदेश सभा गरी एमालेका ३३ जना सांसद माधव नेपालद्वारा गठित नेकपा (एकीकृत समाजवादी) सहभागी भएका छन् ।
उनीहरुलाई मन्त्री र संसदीय फाँटमा जिम्मेवारी दिने रणनीति नेपालको छ । यतिबेला नेकपा एसमा पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम छनोटको तयारी गरिरहेको छ।


प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको भेटपछि मन्त्रिपरिषद् विस्तारको तयारी तीव्रता लिएको छ । यसैक्रममा नेकपा (एस) ले पनि सरकारमा पठाउने नेताहरूको नाम छनोट तयारी गरेको हो। नेकपा (एस) ले ५ देखि ६ मन्त्रालय पाउने सम्भावना छ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो भने लागिसकेको छैन। छलफलबाट मन्त्रालय बाँडफाँटको टुंगो लगाइनेछ । नेता नेपालले नयाँ सरकार बनाउन सहयोग गरेका कारण उनको पार्टीलाई ६ वटासम्म मन्त्रालय दिन दाहाल र देउवा तयार भएका छन्। जनता समाजवादीसँग छलफल गरेपछि यसको अन्तिम टुंगो लाग्नेछ।
नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले दलको नेतामा नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ।
बैठकले वेदुराम भुसाललाई राष्ट्रियसभा संसदीय दलको नेता चयन गरेको छ। नेकपा (एस) ले शनिबार हाइकमान्ड गठन गरी सरकारमा सहभागी हुने निर्णय गरेको थियो।
स्रोतका अनुसार नेपालले देउवा र दाहालसँगको छलफलमा पूर्वाधार विकास निर्माणसँग जोडिएका मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने बताएका छन्।
जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, भूमि व्यवस्था तथा सहकारी र कृषि मन्त्रालय नेकपा (एस) लाई दिने विषयमा देउवा सकारात्मक बनेको स्रोतको भनाइ छ। यी सबै मन्त्रालय विकासे मन्त्रालय हुन्।
माधवले यसरी मिलाउँदै छन् १३ सांसदको व्यवस्थापन
अध्यक्ष नेपालले सरकारमा पठाउन अहिलेसम्म मन्त्री नभएका पुराना नेता तथा सांसदलाई पहिलो प्राथमिकतामा राखेका छन्। जसअनुसार विरोध खतिवडा, मेटमणि चौधरी, वेदुराम भुसाल, प्रेम आले, पार्वती बिशुंखे, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठसहितका सांसद प्राथमिकतामा छन्।
पहिलो चरणमा नपर्ने सांसदलाई दोस्रो चरणमा मन्त्रीमा पठाउने र कतिपयलाई उपसभामुख, संसदीय समितिको नेतृत्वलगायतमा व्यवस्थापन गर्ने वचन नेपालले सांसदहरूलाई दिएका छन्।
अहिले चर्चामा रहेकै नेताहरूलाई सरकारमा सहभागी गराउने नेपाल निकट स्रोतले जनाएको छ। सांसद सरला यादवले उपसभामुखमा दाबी गरेकी छन्। भवानी खापुङ, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन पनि कुनै न कुनै भूमिकाको खोजीमा छन्।
कलिला खातुन, हीराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, लक्ष्मी चौधरी, बिना बुढाथोकी, शेरबहादुर कुँवर, ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा (पौड्याल), सिंगबहादुर विश्वकर्मा, नन्दा चपाईं, शान्तिकुमारी अधिकारी जिसी पनि मन्त्रीका आकांक्षी छन्। नेकपा (एस) मा तुलसा थापा र माया ज्ञवाली पनि थपिएका छन्।
थापाले मन्त्रीको इच्छा व्यक्त गरेको स्रोतको दाबी छ। थापा एमाले नेता वामदेव गौतमकी पत्नी हुन्। गौतमले केही दिनभित्रै एमालेबाट राजीनामा दिएर नेकपा (एस) मा आउने बताएका कारण थापालाई सरकारमा पठाउनुपर्ने बाध्यता नेपाललाई छ।
सरकारमा ६ जना, राष्ट्रियसभाको प्रमुख सचेतक, सचेतक, प्रतिनिधिसभा प्रमुख सचेतक, सचेतक तथा विकास समितिका सभापतिमा गरी कम्तीमा १३ सांसदले पद पाउने निश्चित छ ।