२९ फाल्गुन २०८२, शुक्रबार
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलन आगामी असोजमा हुने भएको छ ।
केन्द्रीय समितिको भर्चुअल बैठकले ‘शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिताका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औँ राष्ट्रिय सम्मेलन’ भन्ने नाराका साथ असोज ८ देखि १० गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।


यसअघि क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलन २०७४ सालमा भएको थियो । सम्मेलनमा भौतिक उपस्थितिमा गर्ने निर्णय गरेको छ । उद्घाटन सत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठान र बन्दसत्र कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस हुने भएको उनले जानकारी दिए। सङ्क्रमण बढ्दै गए भने सम्मेलन भर्चुअलबाट गर्ने निर्णय क्रान्तिकारीले गरेको छ । कोरोना भाइरसका कारणले सम्मेलनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्या घटाएर सात सय ९९ पु¥याइएको छ । यसअघि दुई हजार दुई सय २२ जना प्रतिनिधि रहेका थिए ।
प्रदेश समिति थप कार्यकारी बनाउने र केन्द्रीय समितिको सङ्ख्या घटाउन उनले जानकारी दिए। अहिले क्रान्तिकारीको दुई सय ४३ जनाको केन्द्रीय समिति रहेको छ । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । कार्यसमितिको दुईवर्षे कार्यकाल रहेको छ । यसैबीच माओवादी निकट योङ् कम्युनिष्ट लिग (वाईसीएल) को पनि राष्ट्रिय भेला चलिरहेको छ । भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी निकट अखिल (क्रान्तिकारी) ले पनि आगामी असोज ६ देखि ८ गतेसम्म पोखरामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने निर्णय गरेको छ ।